साउदी अरबकी चर्चित महिला अभियान्त तथा अधिकारकर्मी लुजैन हथलौललाई पाँच वर्ष जेल सजाय
साउदी अरबकी चर्चित महिला अभियानत लुजैन हथलौललाई पाँच वर्ष जेल सजाय सुनाइएको छ । उनले साउदी अरबमा महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भनेर आवाज उठाउने महिला अभियानकर्तामध्ये एक हुन् । उनलाई त्यहाँको प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । ३१ वर्षकी हथलौल दुई वर्षभन्दा बढी समय अहिले जेलमा जीवन बिताइरहेकी छिन् ।
सन् २०१८ मा हथलौल तथा उनीसँगका केही महिला अभियन्ताहरुलाई साउदी अरबमा दुश्मनसँग सम्पर्क राखेको भन्दै हिरासतमा लिइएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले बारम्बार उनको रिहाइको माग गर्दै आवाज उठाएका छन् । तर, साउदी अरबमा बनाइएको एक विशेष आपराधिक न्यायालयले हथलौलले राष्ट्रिय सुरक्षालाई नोक्सान पुर्याएको र विदेशी अजेन्डालाई अगाडि बढाएको भन्दै दोषी करार गरेको हो । यो न्यायालय त्यहाँ आपराधिक विषयमा न्याय दिनका लागि बनाइएको हो ।
अदालतले आफ्नो आदेशमा पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाएको छ । अब दुई वर्षभन्दा बढी हिरासतमा रहेकाले हथलौललाई यो समय माफी गर्न चाहिँ सकिने साउदी अरबका मिडियाहरुले उल्लेख गरेका छन् । अर्कोतिर, उनको परिवारले यी आरोपहरुलाई अस्वीकार गरेका छन् । बरु परिवारले त उनलाई हिरासतमा पनि विभिन्न यातना दिइएको आरोप लगाएको छ । तर, परिवारको यो आरोपलाई अदालतले खारेज गरिदिएको छ ।
सन् २०१८ मा साउदी अरबमा महिलाले गाडी चलाउन पाउने अधिकार पाएको केही साताअघि मात्र हथलौललाई त्यहाँको प्रहरीले हिरासतमा लिएको थियो । त्यहाँका अधिकारीहरुले यही विषयमा आवाज उठाएकाले मात्र हथलौललाई हिरासतमा नलिइएको बारम्बार बताउँदै आएका छन् । हथलौललाई सबैभन्दा पहिले साउदी अरबको प्रहरीले १ डिसेम्बर २०१४ मा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार गाडी चलाएर साउदीको सीमामा पुगेकी उनलाई त्यहाँबाट नै प्रहरीले गिरफ्तार गरेको थियो । यसको विरोधमा त्यहाँ पत्रकार मायसा अल अमौदीले पनि गाडी चलाएकी थिइन् । पछि उनलाई पनि साउदी सरकारले पक्राउ गरेको थियो ।