रेशमलाल चौधरी लगायत घटनाको अरु ७ जनालाई उच्च अदालतले जन्म कैद
टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेको छ । उच्च अदालत दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा बिहीबार दोषी ठहर गरेको हो। इजलासले प्रतिवादीहरु रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी, र गंगाराम चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्लाको फैसला नै सदर गरेको हो । अदालतले उनीहरुलाई सातै जनालाई ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सजाय सुनाएको छ। डाँका मुद्दामा समेत सजाय गरिपाउँ भन्ने सरकारको पुनरावेदन भने उच्च अदालतले खारेज गरेको छ ।
एक बालकसहित आठ जनाको ज्यान लिनेगरि २०७२ भदौ ७ गते भएको उक्त घटनामा चौधरीलाई मुख्य योजनाकारका रुपमा मुद्दा चलाइएको थियो। जिल्ला अदालतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । यस्तै, अदालतले जिल्लाको आदेश केही उल्ट्याउँदै लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । अदालतले ज्यान मार्ने उद्योगमा पनि पाँच वर्ष सजाय तोकेको छ। डाँका मुद्दाबाट भने थारुलाई पनि सफाइ दिएको छ । यस्तै, अदालतले सन्तोष चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई जनही दश वर्षको सजाय सुनाएको छ। जिल्लाको फैसला उल्टी गर्दै अदालतले उनीहरुलाई दश वर्षको सजाय गरेको हो। ज्यान मार्ने उद्योगमा समेत पाँच वर्ष सजाय तोकिएको छ ।
अदालतले नाबालक श्रवणकुमार चौधरीलाई जन्मकैदको आधा सजाय हुनेगरि जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ। प्रतिवादी सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई अदालतले जनही पाँच वर्षको कैद सजाय सुनाएको छ । यस्तै, रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रमेबहादुर चौधरीलाई पनि अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । उच्चले जिल्लाको फैसला केही उल्टी गरेको हो ।
अदालतले चुन्नीराम चौधरी र रामकुमार कठरियालाई जनही तीन वर्ष सजाय हुने जिल्ला अदालतकै आदेश सदर गरेको छ । उच्चले यसअघि जिल्लाले दोषी ठहर गरेका विश्राम चौधरीलाई भने अभियोगबाट सफाइ हुने फैसला गरेको छ । रामनरेश चौधरी, तहाँबर अलीलाई सफाइ दिने जिल्लाको फैसला पनि उच्चले सदर गरेको छ । यस्तै, नाबालक करण चौधरीलाई ६ महिना कैद सजाय हुनेगरि सुरु अदालतले गरेको फैसला समेत अदालतले सदर गरेको छ । यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। यस्तै, १२ जनालाई तीन वर्ष, एक जनालाई ६ महिना र अभियुक्तमध्ये तीन जनाले सफाइ पाएका थिए ।