अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप न्यूयोर्ककी नर्सले लगाइन्

अमेरिकामा कोरोनाभाइरस विरुद्धको पहिलो खोप न्यूयोर्क स्थित लङ आइल्याण्ड जेविस मेडिकल सेन्टरको सघन उपचार कक्षामा (आईसीयूमा) कार्यरत नर्स सान्ड्रा लिन्ड्सेले लगाइन । उनलाई खोप लगाइएको भिडिओ फुटेज न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोको ट्विटर फिडमा प्रसारित गरिएको थियो । न्यूयोर्क कोरोना महामारीको पहिलो लहरमा अमेरिकामा सबैभन्दा प्रभावित राज्य हो ।

नर्स लिन्ड्सेले यो खोप लगाउँदा आफूलाई अन्य खोप लगाएभन्दा फरक अनुभूति नभएको बताएकी छिन्। उनले भनेकी छिन्, “मलाई लाग्छ यो एउटा सीमा हुनेछ जसले इतिहासको दुखदायी क्षण अन्त्यको शुरुवात गर्नेछ । म यो खोप सुरक्षित छ भन्ने आत्मविश्वास सबै जनतामा दिन चाहन्छु ।” अमेरिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। त्यसका लागि विभिन्न राज्यका १४५ स्थानमा खोप पुर्‍याइएको छ ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट तीन लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। विश्वभरमा सबैभन्दा बढी संक्रमितको संख्या पनि अमेरिकामा नै छ। त्यहाँ अहिलेसम्म करीब एक करोड ७० लाख संक्रमित पत्ता लागेका छन् । सक्रिय संक्रमितको संख्या झन्डै ६८ लाख छ । गएको शुक्रबार त्यहाँको फुड एण्ड ड्रग एममिनिस्ट्रेसन (एफडीए) ले आपतकालीन अवस्थामा फाइजर र बोयोनटेकको कोरोनाविरुद्धको खोप लगाउने अनुमति दिएको थियो । जाडो शुरु भएपछि गएको नोभेम्बरदेखि संक्रमितको संख्या बढ्न थालेको छ। त्यहीकारण पनि एफडीएलाई खोप स्वीकृति दिन दबाब परेको थियो ।

बेलायतमा यो खोपलाई स्वीकृति दिइसकिएको छ। अब क्यानाडामा पनि यो खोप लगाउने तयारी सुरु भएको छ । क्यानाडामा पहिलो चरणमा लगाइने ३० हजार डोज खोप आइतबार भित्रिसकेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।