सरकार बिरुध्द नेपाली काङग्रेसको देशब्यापी प्रदर्शन
काठमाडौँ– ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरिएको हो । कांग्रेसका नेताहरु विभिन्न जिल्लामा सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका थिए । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सबै केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्लामा खटाइएको थियो । हटौंडामा कांग्रेसको विरोध प्रदर्शनसभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको बताए । उनले भने,’ देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।’ उनले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे ।
‘यो व्यवस्थालाई अझ प्रजतान्त्रिक र व्यवस्थित बनाउने काम गरौं । नेपालको संविधानलाई सफल बनाउने हो,’ सभापति देउवाले भने,’गणतन्त्र स्थायी हो । सुधार गर्ने छौं । यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको सभापति देउवाको भनाइ छ । यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाएका छन् । आज (सोमवार) काठमाडौंमा आयोजना गरिएको सरकारविरुद्धको प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजतन्त्र पुनर्वहालीको माग गर्दै आन्दोलन गरिनुमा सरकार नै जिम्मेवार भएको बताएका हुन् । सम्बोधनका क्रममा नेता पौडेलले भने, ‘राजा आऊ देश बचाऊ भन्नेलाई प्रश्न गर्न चाहन्छु कि, तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? कोत पर्व, भण्डार खाल पर्व गराउने राजा ल्याउने खोजेको हो कि ? माओवादी जन्माएर प्रजातन्त्रको हत्या गराउने राजा ल्याउन खोजेको हो?’
उनले सरकारका कारण जनतामा यस्तो प्रतिगामी सोच कसरी जन्मेको र कम्युनिस्ट सरकार नै जिम्मेवार हुनुपर्ने दाबी गरे । साथै, नेता पौडेलले यो सरकारले जनतामा सन्त्रास फैलाएको र जनतालाई आफ्नो ईशारामा चल्न बाध्य बनाएको समेत बताए । ‘समाजलाई आफ्नो कब्जामा राख्ने, सारा राज्यलाई आफ्नो कब्जामा राख्ने कोशिश गरिरहेको छ,’ नेता पौडेलले भने । उनले भ्रष्टाचार हेर्ने आयोग र निकायहरु जनताको भावनाका विपरीत सरकारको ईशारामा चलेको र भ्रष्टाचारमा मुछिएका ठूला माछालाई पक्राउ नगरिएको बताए । यसैगरी कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिए ।
कांग्रेसले देशव्यापी रुपमा सरकारविरुद्ध आयोजना गरेको विरोधसभाअन्तर्गत धनगढीमा भएको कार्यक्रममा नेता थापाले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका थिए । नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको भन्दै नेता थापाले भने,‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, थापाले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’ कांग्रेसले राजालाई पनि फालेको र राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको भन्दै नेता थापाले भने,‘ राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ ।’ कांग्रेस नसकेर सरकारविरुद्ध सडकमा नआएको भन्दै उनले भने,‘कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’ यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् । सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडामा भएको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।