इङ्लिस प्रिमियर लिग अन्तर्गत: शिर्ष स्थानमा रहेका टिमहरुले बाराबरी खेल खेले

इङ्लिस प्रिमियर लिग अन्तर्गत गए रातिको खेलमा फुलह्यामसँग १-१ गोलको बराबरी खेलेपछि लिभरपुलले शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ। त्यसअघि शीर्षस्थानका टोटेनहमले पनि क्रिस्टल प्यालेससँग १-१ गोलकै बराबरी खेलेको थियो।

दुवै क्लबको १२ खेलबाट २५ अंक छ। गोलअन्तरका आधारमा टोटेनहम शीर्षस्थानमा छ। पछिल्लो खेलमा लिभरपुल फुलह्यामको घरेलु मैदानमा २०औँ मिनेटमा नै एक गोलले पछि परिसकेको थियो। तर, ७९औँ मिनेटमा पाएको पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरेपछि टोटेनहमसँग अंक बराबरी गरेको हो ।

यसअघि टोटेनहमले क्रिस्टल प्यालेसको घरेलु मैदानमा २३औँ मिनेटमा ह्यारी केनको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा अंक बाँढ्न बाध्य भयो। प्यालेसले ८१औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । त्यस्तै लेस्टर सिटीले ब्रिङटन एन्ड होभ एल्बियनलाई ३-० ले पराजित गरेर शीर्ष दुई क्लबमाथिको दबाब बढाएको छ। उसको २४ अंक पुगेको छ। लेस्टरलाई जिताउन जेम्स मेडिसनले दुई र जामी भर्डीले एक गोल गरे ।

अर्को खेलमा चेल्सी एभर्टनसँग पराजित भएको छ। चेल्सी २२ अंकसहित पाचौँ र एभर्टन २० अंकसहित सातौँ स्थानमा छन्। आर्सनल भने रेलिगेसन जोनमा संघर्ष गरिरहेको बन्र्लीसँग १-० गोलले पराजित भएको छ । आर्सनलका ग्रानित हाकाले ५८औँ मिनेटमा रातो कार्ड पाएका थिए। अझ ७३औँ मिनेटमा औबामेयाङले आफ्नै पोष्टमा गोल गरेपछि आर्सनल घरेलु मैदानमा पराजित भयो । जितसँगै ९ अंक बटुलेको बन्र्ली रेलिगेसन जोनबाट माथि १७औँ स्थानमा आएको छ। आर्सनल भने १३ अंकसहित १५औँ स्थानमा छ ।

स्रोत- HimalKhabar