अधिकांश स्थानीय तहको अस्पतालहरुको अवस्था ‘बेहाल’

सरकारले हालै ३०० भन्दा बढी स्थानीय तहमा १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने भनेर शिलान्यास गर्‍यो ।

तर स्थानीय तहले विगतदेखि सञ्चालन गरिरहेका अस्पतालहरूले राम्ररी सेवा दिन सकिरहेका छन्? पैसा अभाव, पर्याप्त जनशक्तिको व्यवस्था नहुनु तथा उपकरणको अभाव रहेकाले ती अस्पतालहरूको सेवा गुणस्तरीय हुन नसकिरहेको अधिकारीहरूले बताएका छन् । अभावै अभावले जेलिएका ती अस्पताल व्यवस्थापन गरिरहेका कतिपय स्थानीय तहले प्रदेश सरकारलाई अस्पतालको व्यवस्थापन गरिदिन गुहार्ने गरेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । भइरहेका अस्पताल सञ्चालन गर्न नसकिरहेको अवस्थामा स्थानीय तहले शिलान्यास गरिसकेका सयौँ अस्पतालमध्ये भौतिक संरचना खडा हुन सक्ने तर प्रभावकारी सञ्चालनबारे गम्भीर प्रश्नचिन्ह रहेको जनस्वास्थ्यविद बताउँछन् ।

स्थानीय तहका अधिकांश अस्पतालको हालत खराब

देशभर हाल १९ वटा अस्पताल स्थानीय तहले सञ्चालन गरिरहेका प्रदेश सरकारका स्वास्थ्य सेवा महाशाखाका प्रमुखहरूले जनाएका छन् ।  स्थानीय तहले सञ्चालन गरेका प्रदेश २ का अस्पताल बाहेक सबै अस्पतालको व्यवस्थापन खराब स्थितिमा रहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अधिकारीहरूले बताएका छन् । कतिपय स्थानीय तहले अब अस्पताल सञ्चालन गर्न नसक्ने भन्दै प्रदेश सरकारलाई गुहार्न थालेका छन् । कर्णाली प्रदेशको दुल्लु अस्पताल सञ्चालन गरिरहेको दुल्लु नगरपालिकाले पनि अब अस्पताल चलाउन नसक्ने भन्दै प्रदेश सरकारलाई गुहारेको त्यहाँको स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए । दुल्लु नगरपालिकाकी उपप्रमुख विष्णु थापाले केन्द्र र प्रदेशबाट सहयोग नभए अस्पताल सञ्चालन गर्न नसक्ने बताइन् । उनले भनिन्, ‘हामीले प्रदेश सरकारलाई अस्पताल सञ्चालन गरिदिन अनुरोध गरेका हौँ। स्रोत छैन कसरी सञ्चालन गर्ने? प्रदेश १ का स्थानीय तहले सञ्चालन गरेका दमक अस्पताल, कटारी अस्पताल, रंगेली अस्पताल तथा इटहरी अस्पताल पनि सञ्चालनका लागि प्रदेश सरकारमा अनुरोध आएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पैसा तथा जनशक्ति अभाव

स्थानीय तहलाई अस्पताल सञ्चालन गर्नका लागि पर्याप्त पैसा नहुने भएकाले उनीहरूले सञ्चालन गरेका अस्पतालहरूको हालत खराब भएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । तर प्रदेश २ का चन्द्रनिगाहपुर अस्पताल, बर्दिबास अस्पताल तथा पोखरिया अस्पताल भने अन्य अस्पताल भन्दा केही सहज रूपले सञ्चालन भइरहेको प्रदेश २ स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झाले बताए । पैसा अभावकै कारण झापाको दमक नगरपालिकाले अस्पतालको भौतिक संरचना निर्माण गर्न नसकेकाले उक्त अस्पताल बर्षेनी डुबानमा पर्ने गरेको छ । दुल्लु नगरपालिकाकी उपप्रमुख थापाले अस्पताल सञ्चालन गर्न मुख्य स्रोत पैसा नभएकै कारण गाह्रो भएको बताइन् । उनले भनिन्, ‘हामीसँग बजेट नै हुँदैन अस्पताल चलाउन ।’ गण्डकी प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख डा. रामबहादुर केसीले प्रदेशका स्थानीय तहले सञ्चालन गरिरहेका अस्पतालमा ४८ प्रतिशत जनशक्ति अभाव भएको बताए ।  उनले भने, ‘भौतिक संरचना निर्माणका लागि त हामी सकेसम्म सहयोग गर्छौं। तर जनशक्ति अभावले प्रदेशका स्थानीय तहले सञ्चालन गरेका अस्पतालले राम्रो सेवा दिन सकिरहेका छैनन् ।’ प्रदेश तथा सङ्घीय सरकारले सञ्चालन गरिरहेका अस्पतालमा पनि जनशक्ति अभाव हुने गरेको छ ।

अहिले अस्पताल शिलान्यास गर्ने बेला होइनः जनस्वास्थ्यविद् पाण्डे

सरकारले केही दिन अघि देशभर ३ सय भन्दा बढी स्थानीय तहमा १५ शय्यासम्मको आधारभूत अस्पताल निर्माण गर्ने भनेर शिलान्यास कार्यक्रम गरिसकेको छ ।  तर जनस्वास्थ्यविद्‌हरूका अनुसार अस्पतालको भौतिक संरचना निर्माणले मात्र स्वास्थ्य सेवा सुलभ हुँदैन । जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले अस्पतालको भवनले मात्र स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने बताए ।  उनले यो बेला अस्पताल शिलान्यास गर्नु भन्दा पनि भएका अस्पताललाई स्तरोन्नति गरेर सुलभ सेवा दिनुपर्ने बताए ।  उनले भने, ‘यो बेला महामारी कसरी नियन्त्रण गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ। स्थानीय स्तरमा जनशक्ति निर्माण मुख्य कुरा हो। अस्पतालको भवनले स्वास्थ्य सेवा दिँदैन। यो बेला नयाँ भवन बनाउन शिलान्यास गर्नु भन्दा भएका संरचनालाई व्यवस्थित गर्ने हो ।’ उनले प्रदेश सरकारसँग स्वास्थ्य सेवाका लागि पर्याप्त बजेट भए पनि उपयोग गर्न नसकेको बताए ।

स्रोत- बि.बि.सी नेपालीसेवा